Akhtiyar-CIAA-Nepal.jpg

काठमाडौं — यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उप—महानगरपालिका १० बस्ने राजकिशोर भगतलाई नियन्त्रणमा लिएको हो ।

स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी हुने परीक्षार्थीबाट दुवैजनाले घुस लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार कापरको कोठा खानतलासी गर्दा २ लाख २३ हजार ८ सय ५० र भगतको साथबाट ५० हजार रुपैयाँ गरी कुल २ लाख ७३ हजार ८ सय ५० रुपैयाँ बरामद भएको हो । यातायात व्यवस्था कार्यालय, जनकपुरधामको कार्यालय परिसरबाटै मंगलबार दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।