Corona-Vaccine-bir-hospital-Nepal-24.jpg

काठमाडौँ – नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आज बुधबारदेखि सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले बिहान १० बजे बालुवाटारमा भर्चुअल बैठकबाटै खोप अभियान शुभारम्भ गरेका हुन् । काठमाडौँको वीर अस्पतालमा पनि खोप अभियान सुरु भएको छ । वीर अस्पतालमा स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीले खोप लगाइरहेका छन् । वीर अस्पतालमा एक सयजनाले खोप लगाइसकेको वीर अस्पतालका कोरोना फोकल अच्युत कुमार कार्कीले जानकारी दिएका छन् ।उनका अनुसार एक दिनमा ६ सय जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

खोप लगाइसकेका व्यक्तिलाई आधा घण्टासम्म खोप केन्द्रमै राख्ने गरिएको छ । कुनै समस्या आए तत्काल उपचार गर्नका लागि यसो गरिएको हो । वीरमा एक जना नर्सलाई खोप लगाइसकेपछि सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ । स्वास्थ्यकर्मीहरुले सकारात्मक सन्देश प्रवाह गर्न सुरुमै आफूहरुले खोप लगाएको बताएका हुन्।