death.jpg

बझाङ — बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका ३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षकले बताएका छन् । छविसपाथिभेरा—३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको हो ।

खुँडा प्रहार गर्नेमध्येका एक जना सोही गाउँपालिका —२ का ३२ वर्षीय ज्ञानबहादुर कडायतलाई घटनास्थलबाटै पक्राउ गरिएको छ भने सोही ठाउँका प्रकाश ऐडी फरार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । हत्यामा प्रयोग गरिएको खुँडा बरामद गरी शव जिल्ला अस्पताल सिमखेतमा राखिएको र शवको परीक्षण भने अहिलेसम्म नभएको बताइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।