ezgif-6-9d193cd210a6.jpg

काठमाडौं – वेस्ट ब्रोममाथि गोलवर्षा गर्दै म्यान्चेस्टर सिटी इङ्लिग प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार ५–० को विशाल जीत हासिल गर्दै सिटीले म्यान्चेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ ।

सिटीको जीतमा इल्के गुन्डोगानले दुई, जोआओ क्यान्सेलो, रियाद महारेज र राहिम स्टर्लिङले एक–एक गोल गरेका छन् । जीतसँगै सिटी यो सिजन पहिलोपटक शीर्ष स्थानमा पुगेको हो । लगातार ७ जीत हासिल गरेपछि १९ खेलबाट सिटीको ४१ अङ्क रहेको छ, भने दोस्रो स्थानमा रहेको युनाइटेडको ४० अङ्क रहेको छ ।

मंगलबार नै भएको अन्य खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै आर्सनलले साउथह्याम्टनमाथि ३–१ को जीत हासिल गरेको छ । स्टुवार्ट अर्मस्ट्रङगले साउथह्याम्टनलाई खेलको शुरुवातमा नै अग्रता दिलाएका थिए । तर, निकोलास पेपे, बुकायो साका र अलेक्सान्डर लाकाजेटले गोल गर्दै आर्सनलको पुनरागमन पुरा गरेका छन् । जीतपछि आर्सनल लिगको आठौँ स्थानमा पुगेको छ । अन्य खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हरायो भने लिड्सले न्यूक्यासललाई २–१ गोलले अन्तरले पराजित गरेको हो ।