DPM-Gautam-at-House-on-Kailali-incident.jpg

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कलेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । तर, ओली र प्रचण्ड आउने—नआउने निश्चित छैन ।

गत पुस ५ गते संसद विघटन भएपछि विभाजित अवस्थामा पुगेको नेकपा एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरिरहेका छन् । दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका छन् ।उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । उनले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र घरमा आउनेहरुलाई सक्दो सहयोग एवम् सम्मान गरी समाजवादी शैली अपनाउन सबैलाई अपिल गरेका छन् ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिस्ट तथा वाम—प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ ।देशको विकास, सुशासन र समृद्धिका लागि नेकपाको एकता अनिवार्य रहेको गौतमको भनाइ छ ।