teku_PzudOnCjCD.jpg

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप अभियान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । भोलि १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले बताएका छन् ।

कोरोना भाइरसविरुद्धको पहिलो खोप सोहि अस्पतालका निर्देशक डा. राजभण्डारीले लगाउने भएका छन् । यस्तै दोस्रो खोप सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन्, र त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइने भएको छ ।

टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने निर्देशक डा.भण्डारीले जानकारी दिएका छन् । काठमाडौं उपत्यकाका ११ वटा अस्पतालबाट खोप दिने कार्यक्रम रहेको छ । भोलि देशभरका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुनलागेको छ ।

काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल, वीर अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, भक्तपुर अस्पताल,शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र,काठमाडौं मेडिकल कलेज, शहिद गंगालाल अस्पताल बाट खोप अभियान सुरुहुन लागेको छ ।