corona-vaccine_10_2xMz7uDymu.jpg

काठमाडौं – भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप कर्णाली प्रदेश आइसकेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७ सय ८० ‘कोभिशिल्ड’ खोप सोमबार राति सुर्खेत आएको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले भोलि देखि खोप लगाउन शुरु गर्ने तयारी गरीसकेको समेत जानकारी दिएको छ । निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णालीका १२ वटा अस्पतालहरुलाई केन्द्र बनाएर खोप लगाइने बताएका छन् । ८ वटा जिल्ला अस्पतालका साथै मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गर्ने उनले जानकारी दिएका छन् ।

पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको छ । र पहिलो मात्राको खोप लगाएको २८ दिनपछि दोस्रो मात्राको खोप दिइने निर्देशक खड्काले बताएका छन् । पहिलो चरणमा स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने समेत जानकारी दिएको छ ।