ezgif-1-4340aa7e03e2.jpg

काठमाडौं — अस्ट्रेलियामा भएको बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिएका छन् । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ । सन्दीप लामिछानेले २ विकेट लिएसँगै होबार्ट हुरिकेन्स ७ रनले विजयी भएको छ । सिड्नीले भर्ने २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाएको थियो ।

यसअघिको खेलमा पनि सन्दीपले दुई विकेट लिएका थिए । उनले बिग बासमा अहिलेसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा रहन सफल भएको छ । होबार्टले अब मङ्गलबार हुने खेलमा मेलबर्न रेनेगेड्ससँग खेल्ने भएको छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ ।