ezgif-1-6987f5e1a2fb.jpg

काठमाडौं — नेकपा प्रचण्ड–माधव पक्षले पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्मका कार्यक्रमहरु रहेका छन् । प्रचण्ड माधव पक्षले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ सम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रम बनाएका छन् ।

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडांैमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र सभा गर्ने बताएको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनैपनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी समेत गरेका छन् । उनले निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्छ भन्नेमा विश्वस्त रहेको भन्दै आयोगको पत्र हेरेर आवाश्यक निर्णय गर्ने पनि जानकारी दिएका छन् ।