nepalese-deputy-prime-minister-and-foreign-371305.jpg

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने विश्वास व्यक्त गरेका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने थापाको भनाइ छ । गृहजिल्ला हेटौंडामा रहेका थापाले जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकमा बोल्दै १४ वर्ष देखिको गलत र त्रुटिपूर्ण राजनैतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए ।

अब सबै अट्ने राजनैतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिनुपर्ने बताएका छन् । आफ्नो स्वार्थसिद्ध गर्नको निमित्त देश,जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले बिप्लब माओवादी देखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । भ्रस्टाचार ,कुशासन ,धर्मपरिवर्तन,बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण ,जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने बताएका छन् ।

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन,संगठन सुदृढीकरण तथा भाबी कार्यक्रमका बारेमा आआफ्नो धारणा राखेका थिए । आजको बैठकमा तीस जिल्लाका अध्यक्षहरुको सहभागीता रहेको र बाँकी जिल्ला अध्यक्षहरुको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिएका हुन् ।