artha-mantralaya-ministry-o.jpg

काठमाडौं –आर्थिक वर्ष २०७७र०७८ को पहिलो ५ महिनाको अवधिमा नेपाली अर्थतन्त्रमा मिश्रित अवस्था देखिएको छ । अर्थ मन्त्रालयले प्रकाशन गरेको मासिक बुलेटिनमा चालु आर्थिक वर्षको मंसिरसम्मको सूचक अनुसार यस्तो देखिएको हो । मंसिरसम्म कुल सरकारी खर्च ९.९ प्रतिशतले बढेर ३ खर्ब २८ अर्ब ४६ करोड पुगेको उल्लेख गरिएको छ । यसमध्ये चालु खर्ब १३.७ प्रतिशतले बढ्दा पुँजीगत र वित्तीय व्यवस्थातर्फबो खर्च भने ४.४ प्रतिशत र १७.१ प्रतिशतले घटेको उल्लेख गरिएको छ । राजश्व परिचालनतर्फ मंसिरसम्म संघीय सरकारको राजश्व कुल ३ खर्ब १ अर्ब २९ करोड रहेको जनाइएको छ । यो राजश्व अघिल्लो वर्षभन्दा २.४ प्रतिशतले कम भए पनि कोभिड महामारीको अवस्थामा यो राजश्वलाई सन्तोषजनक नै भएको मन्त्रालयले जनाएको छ । राजश्वमध्ये भन्सारतर्फ ७४ अर्ब ६४ करोड, मूल्य अभिवृद्धि करतर्फ १ खर्ब १४ अर्ब १० करोड, अन्तशुल्कतर्फ ६२ अर्ब ३६ करोड, आयकरतर्फ ५१ अर्ब ३६ करोड तथा अन्य कर राजश्व ७ अर्ब ९३ करोड संकलन भएको उल्लेख गरिएको छ । गैरकर राजश्वतर्फ २९ अर्ब ६९ करोड रुपैयाँ राजश्व संकलन भएको उल्लेख गरिएको छ ।

९५ अर्बको विदेशी सहायता

मंसिर महिनासम्म कुल ९४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी सहायता दिने प्रतिवद्धता प्राप्त भएको छ । यो रकम अघिल्लो वर्ष प्राप्त भएको सहायता भन्दा करिब ३० प्रतिशत बढी रहेको उल्लेख गरिएको छ । त्यसमध्ये करिब १६ अर्ब ९४ करोड अनुदान र ७७ अर्ब ७२ करोड ऋण सहायता रहेको जनाइएको छ । आएको धेरैजसो सहायता सडक र सुशासनको क्षेत्रमा प्राप्त भएको छ । प्रतिवद्धता रकम धेरै भए पनि मंसिरसम्म २७ अर्ब २४ करोड रुपैयाँ बराबरको रकम मात्रै प्राप्त भएको छ । यसमध्ये ६ अर्ब ३२ करोड अनुदान र २० अर्ब ९१ करोड ऋण सहायता प्राप्त भएको उल्लेख गरिएको छ । यो अवधिसम्म सरकारको कुल तिर्न बाँकी ऋण १४ खर्ब ९१ करोड रहेकोमा आन्तरिक ऋण ६ खर्ब ७० अर्ब र वैदेशिक ऋण ८ खर्ब २० अर्ब रहेको जनाइएको छ । यसबापत मंसिरसम्म ४४ अर्ब रुपैयाँभन्दा बढी सावाँब्याज भुक्तानी भएको देखिएको छ ।

विदेशी लगानी एक चौथाइले घट्यो

यो अवधिमा विदेशबाट प्राप्त हुने लगानी एक चौथाईले घटेको छ । मंसिरसम्म १ सय ८ उद्योगमार्फत् २२ अर्ब ११ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा २७ अर्ब ३८ करोड रुपैंयाँ लगानी भित्रिएको थियो । अघिल्लो वर्ष १ सय १४ कम्पनी दर्ता भएको थियो । दर्ता गर्ने विदेशी कम्पनीको संख्या उल्लेख्य रुपमा नघटे पनि कोभिडका कारण लगानी प्रतिवद्धता भने घटेर आएको हो ।

वित्तीय क्षेत्रमा मिश्रित अवस्था

मंसिरसम्म वित्तीय क्षेत्रको अवस्था मिश्रित छ । यो अवधिमा कुल निक्षेप र कुल कर्जा दुवै बढेको छ । कोभिडको समयका बाबजुद निष्क्रिय कर्जाको दर स्थिर रहेको देखिएको छ । वित्तीय संख्याको संख्या र खाताको संख्याका आधारमा वित्तीय आवद्धता बढ्दै गएको देखिएको छ । बीमा क्षेत्रको प्रिमियम सङ्कलनमा ३९ प्रतिशत वृद्धि हुँदा कुल बीमाशुल्क ६१ अर्ब ६० करोड पुगेको देखिएको छ । यस्तो प्रिमियमा जीवनबीमा कम्पनीको हिस्सा ८६ प्रतिशत र निर्जीवन बीमा कम्पनीको हिस्सा करिब १४ प्रतिशत रहेको उल्लेख गरिएको छ ।