congress-ncp-jsp_jdl7V5hZSB.jpg

काठमाडौं —प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती दलहरु आन्तरिक छलफलमा जुटेका छन् । यस क्रममा आगामी आन्दोलन संयुक्तरुपमा गर्ने प्रयासस्वरुप दलहरु आन्तरिक छलफल गरिरहेका छन् । यस्तै त्यसका लागि दलका नेताहरु एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयासमा समेत लागेका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको विषयमा तीनवटै दलभित्र फरक धारणा देखिएका कारण संयुक्त आन्दोलन हुने सम्भावना निकै कम रहेको धेरैको बुझाइ छ ।

प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्ने विषयमा जनता समाजवादी पार्टी नेपाल र नेपाली काँग्रेसबीच फरक धारणा छ भने नेकपा (प्रचण्ड–माधव समूह) प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा दृढ छ । जसपा नेपालमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरु प्रतिनिधिसभा पुनःस्थापनामा विशेष जोड दिइरहेका छन् भने सोही पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर नेताहरु सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै अघि बढ्नुपर्ने पक्षमा छन् । त्यस्तै, नेपाली काँग्रेसमा पनि पार्टी सभापति शेरबहादुर देउवा पक्षधर नेताहरु चुनावको तयारीमा लाग्नुपर्ने भन्दै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले प्रतिनिधिसभा पुनःस्थापना मात्र एक विकल्प रहेको भन्दै आएका छन् ।

यता, प्रचण्ड–माधव समूहको नेकपा पनि संयुक्त आन्दोलन हुनेमा स्पष्ट छैन । जसपा र नेपाली काँग्रेसको कुरा फरक फरक आइरहेको कारण त्यति सजिलो संयुक्त आन्दोलन हुनेमा सो पार्टी विश्वस्त नरहेको हो । प्रचण्ड–माधव समूहको नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले संयुक्त आन्दोलन आवश्यक भए पनि छिट्टै भइहाल्ने अवस्था नरहेको बताए । उनले भने, ‘संयुक्त आन्दोलन हुनुपर्छ तर एकैपटक हुँदैन, त्यो विस्तारै उठ्ने चिज हो, दलहरुको बीचमा कुरा गर्दै गर्नुपर्छ, आन्दोलनहरु गरिरहनु पर्छ, विभिन्न असहमतिका विषयमा कुरालाई अगाडि बढाउँदै लग्नुपर्छ । जुनदिन कुरा मिल्छ, त्यो दिन कसैले भन्नै पर्दैन, जनआन्दोलन आफै सुरु हुन्छ ।’

संयुक्त आन्दोलन गर्ने कुरामा जसपा नेपालसँग करिब करिब कुरा मिलेको बताउँदै उनले काँग्रेससँग यस विषयमा आन्तरिक रुपमा कुराकानी भइरहेको जानकारी दिए । काँग्रेसमा प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा फरक फरक धारणा आइरहेको भन्दै उनले त्यो कुरामा स्पष्ट हुनका लागि विभिन्न तहमा कुराकानी भइरहेको बताए । तीनवटै दल एक हुनुको विकल्प नरहेको बताउँदै नेता भुसालले ढिलोचाँडो संयुक्त आन्दोलन नै हुने र प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई सच्याइने बताएका छन् । आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे काँग्रेसले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने भएको छ । माघ १३ गते काँग्रेस पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ । सो बैठकले मात्र आगामी रणनीति तय गर्ने सो पार्टीका नेता आनन्द ढुंगानाले बताएका छन् ।

काँग्रेसले विभिन्न चरणको आन्दोलन सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीको कदमको विरोधका लागि चलाएको आन्दोलन माघ ८ गते सकिएको छ । आगामी दिनको आन्दोलन कस्तो हुने, संयुक्त गर्ने कि एक्लाएक्लै गर्ने या चुनावमै जाने लगायतको विषयमा विस्तृत छलफल हुने उनले बताएका छन् ।