youbraj-gewali.jpg

बुटवल — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजङ्ग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको ज्ञवालीको ठम्याइ छ । उनलाई पार्टीले अध्यक्षबाट हटाइ सकेकाले पुनः नेतृत्वमा ल्याउन सम्भव नभएको प्रष्ट पारेका हुन् । प्रचण्ड—माधव समूहको लुम्बिनी प्रदेशस्तरीय संघर्ष समितिले आज शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले केपी ओलीले कम्युनिस्टको खोल ओढेर राष्ट्रघाती र प्रतिगमनकारी काम गरेको बताएका छन् ।

‘प्रतिनिधि सभा विघटन गरेर ओलीले एकैपटक कम्युनिस्ट पार्टी, गणतन्त्र र राष्ट्रियतामाथि ठूलो प्रहार गरेका छन्,’ ज्ञवालीले भने, ‘ओलीको कदम केशरजङ्ग रायमाझीको भन्दा बढी प्रतिगामी र जनघाती छ ।’ केशरजङ्ग रायमाझीले महेन्द्रको कदमलाई समर्थन मात्र गरेको तर ओलीले आफै प्रतिगमन गरेर गणतन्त्र समाप्त पार्ने र रायमाझीले भन्दा अझ बढी क्षति पु¥याउन खोजेको ज्ञवालीले बताए । प्रतिनिधिसभा विघटनको कदम देश र जनतामाथि ठूलो विश्वासघात भएको भन्दै उनले प्रधानमन्त्रीका प्रयासलाई असफल पार्ने दाबी गरे ।

राष्ट्रवादको नारा लगाउँदैमा र अर्को देशलाई गाली गर्दैमा राष्ट्रवादी नभइने भन्दै ज्ञवालीले संसद विघटन गर्ने ओलीको निर्णयले राष्ट्रियतालाई कमजोर बनाएको बताएका छन् । ‘ओली कम्युनिस्ट पनि होइनन्, राष्ट्रवादी पनि होइनन् । उनले भने, ‘वर्षौंदेखि सच्याउन खोजेका हौं,उनलाई सच्याउन सकेनौं तर कम्युनिस्ट पार्टी जोगिएको छ ।’ आफ्नो समूहले काठमाडौंमा शुक्रबार गरेको प्रदर्शन सुरुआतमात्र भएको र त्यसले संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्ध व्यापक जनसमर्थन रहेको पुष्टि गरेकोे तर्क उनले गरेका छन् । यसपछि अझ ठूला प्रदर्शनलाई निरन्तरता दिने उल्लेख गर्दै ज्ञवालीले ओलीको अस्तित्व केही महिनामात्र भएको जिकिर गरे ।