shutterstock_454681642.jpg

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण आज काठमाडौं उपत्यकाका मुख्य स्थानको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सर्वसाधारणहरु हिँडेरै आफनो गन्तव्यतर्फ लागेका छन् । प्रदर्शन गर्नु भन्दाअघि चक्रपथ भित्रका विभिन्न नौ स्थानबाट र्याली निकालिने भएकाले ति स्थानमा ठुला सवारी साधनहरुलाई प्रवेश गर्न नदिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

काठमाडौको माइतीघर, त्रिचन्द्र कलेज, शान्तिबाटिका, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग र बाल्मिकी क्याम्पसबाट जुलुस शुरु हुदैछ । सो स्थानदेखि निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर सभामा परिणत हुनेछ । अहिले विभिन्न स्थानबाट र्यालि निकाल्ने क्रम सुरु भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले र्याली र सभा हुने स्थानमा चल्ने सार्वजनिक सवारी साधनहरु रोकिएको समेत जानकारी गराएका छन् । प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटन विरुद्ध पुस ५ पछि लगातारनै आन्दोलन गरीरहेको छ ।