ipo-1.jpg

काठमाडौं – चन्द्रागिरी हिल्सको आइपिओको बाँडफाँड बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा भोलि बिहान १० बजे आइपीओ बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार नै सम्पन्न भएको थियो । चन्द्रागिरी हिल्सको आइपिओ माग भन्दा अत्यधिक आवेदन परेकोले शेयर पाउने भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७ सय ४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदनहरु रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा आवेदनहरु योग्य भएका छन् ।

यसका आधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५ सय १३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेभएका छन् । चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १ सय रुपैयाँका दरमा १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ खुलाएको थियो ।