काठमाडौं – कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओलीसमूहले सप्तरीमा आज गर्न लागेकोे युवा भेला तथा प्रशिक्षण कार्यक्रमका लागि जिल्ला समन्वय समितिले आफ्नो हल नदिने भएको छ । समितिका प्रमुख प्रभाकर यादवले जिल्ला प्रशासन कार्यालयलाई आज पत्राचार गर्दै नेकपाको आयोजनामा हुन लागेको युवा भेलाका लागि आफ्नो हल नदिने जानकारी दिएको हो । ‘नेकपाको दुवै पक्षबाट विवाद हुने देखिएको र विवादबाट सार्वजनिक सम्पत्ति माथि क्षति हुनसक्ने सम्भावना भएका कारण जिल्ला समन्वय समितिको सभाहल कुनै पनि पक्षलाई नदिने बारे जानकारीका लागि अनुरोध छ,’ भनि प्रशासन कार्यालयलाई प्रमुख यादवले पठाएको पत्रमा लेखिएको छ ।
केपी शर्मा ओली पक्षको समूहले जिल्ला समन्वय समितिको सभा हलमानै युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको थियो । मोटरसाइकल ¥याली गरि सकेपछि जिल्ला समन्वय समितिको सभाहल कार्यक्रम गर्नेे तय गरेको थियो । तर कार्यक्रम हुने दिनमै जिल्ला समन्वय समितिले हल नदिने निर्णय गरेपछि युवा भेला खुल्ला सार्वजनिक स्थानमा हुने भएको छ । अब कार्यक्रम राज रङ्गशालामा हुने ओली समूहका नेताले जानकारी गराएका छन् ।
यो कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड—माधव समूहका ७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । दुवै पक्षबीच विवाद र झडप हुने सम्भावना देखिएसँगै अहिले राजविराजमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । छिमेकी जिल्ला सिरहा र सुनसरीबाट समेत सुरक्षाकर्मीहरु ल्याइ परिचालन गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।