सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् । प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिक रुपमा राजीनामा दिएको क्याम्पस प्रमुखहरुले बताएका छन् ।
पछिल्लो समय मप विश्वविधालयमा विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै उपकुलपति सिंहले अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको एकजना क्याम्पस प्रमुखले बताए । उनका अनुसार राजीनामा दिनेमा व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन सङ्कायका क्याम्पस प्रमुख रहेका छन् । यसअघि पनि उपकुलपति सिंहको संलग्नतामा विद्यार्थीमाथि कुटपिट भएको थियो ।