Sher-bahadur-Deuba.jpg

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वडावडामा भेला भएर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका छन् । पुस ५ गते भएको विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको कांग्रेसले बिहीबार वडा तहमा विरोधसभा रोखेका छ । सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६, ७, ४ र ३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।’

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । सभापति देउवाले विघटनलाई हेर्ने दृष्टिकोणमा कांग्रेसमा फरक मत नरहेको समेत दाबी गरेका छन् । संस्थापन पक्षले विघटनको चर्को विरोध नगर्ने र चुनावका लागि तयार रहनुपर्ने रणनीति अबलम्बन गरेको छ भने इतर समूह पुनःस्थापनाको पक्षमा उभिएका छन् ।

सभापति देउवाले भनेका छन्, ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’