काठमाडौं —नेपाली काँग्रेसले वैशाखमा तोकिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन पार्टी जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद विघटन गरी वैशाख १७ र २७ का लागि मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमाबार मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन सबै जिल्ला सभापति परिपत्र गरेको खुलेको छ ।
आयोगले १५ माघदेखि २१ सम्म ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । १८ वर्ष उमेर पुगेका व्यक्तिको नामावली अद्यावधिकका लागि ७ सय ५३ स्थानीय निकायमा आयोगले पत्र पठाएको थियो । निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
त्यसैलाई सहयोग हुनेगरी सहभागी हुन काँग्रेसले परिपत्र जारी गरेको हो । गत साता आयोगले निर्वाचनसम्बन्धी कार्यक्रमबारे दलहरूसँग छलफल गरेको थियो । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै काँग्रेस विरोधमा उत्रिएको काँग्रेसले निर्वाचन सम्बन्धि कार्यमा सहयोग गर्ने परिपत्र गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचन कार्यक्रममा सहभागी जनाउने परिपत्रबाट काँग्रेसले संसद पुनर्स्थापना भन्दा निर्वाचनमै जोड दिएको प्रष्टिएको छ ।