काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सबै जना सहभागी हुन आग्रह गरेका छन् । देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत आग्रह गरेका हुन् । कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रमको आयोजना गरेको छ ।
कांग्रेस संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ । उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो ।
सभापति शेरबहादुर देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।