काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले आज दिएको जानकारी अनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगिसकेको छ । उक्त सङ्गठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको समेत जानकारी दिएको छ ।
विश्वमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या २० लाखभन्दा बढी पुगिसकेको छ । यता बेलायतबाट निस्किएकोे कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा फैलिदै गएको समेत जानकारी दिइएको छ । विश्व स्थास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र कोरोना भाइरसका कारण करिब ९३ हजार जनाको मृत्यु भएको छ ।
तर त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका ४७ लाख जति नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा जागेको छ । युरोपेली युनियनले पछिल्लो तथ्याङ्कमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशहरुका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने छ ।