hirdesh-tripathi.jpg

काठमाडौं – भारत सरकारले नेपाल सरकारलाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको छ । ति १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन् ।

भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप दिएको हो । भारत सरकारले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिएका हुन् । उनले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायतका सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गरेका छन् ।

मन्त्री त्रिपाठीले कार्यक्रममा उपस्थित राजदूत विनयमोहन क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद पठाएका हुन् । उनले भने, ‘म नेपाली जनताका तर्फबाट भारत सरकालाई यो अमूल्य उपहारका लागि धन्यवाद दिन चाहन्छु ।’ त्रिपाठीले नेपालका लागि भण्डारण र ढुवानीका लागि यो भ्याक्सिन उपयुक्त रहेको बताएका छन् ।

भ्याक्सिनको पहिलो खेप बिहीबार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताएका छन् भ्याक्सिन पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई दिइने पनि मन्त्री त्रिपाठीले जानकारी दिएका छन् । नेपालका ७२ प्रतिशत जनसङ्ख्यालाई भ्याक्सिन लगाउने तयारी रहेको समेत उनले जानकारी दिएका छन् । ‘भ्याक्सिन प्रभावकारी ढङ्गले लगाउन कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भइसकेको पनि उनले बताएका छन् ।