काठमाडौं – राष्ट्रिय महिला लिग फुटबल खेल आजदेखि शुरु हुनलागेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा दशरथ रङ्गशालामा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् । उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ । पहिलोपटक बृहतरूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था पनि गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन् । उद्घाटनपछिका खेलहरु भने सातदोबाटोमा एन्फा मैदानमानै हुनेभएका छन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी भएका छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा सुरु हुनलागेको छ । पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप विराटनगरमा सफलतापूर्वक सम्पन्न गरेको एन्फाले कोरोना भाइरसका कारण महिला लिगको आयोजना गर्न सकेको थिएन । यसपटकको महिला लिगमा सहभागी टोलीले ४ जना विदेशी खेलाडीहरु समेत राख्न पाउने भएका छन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।