Pushpa_Kamal_Dahal_Prachanda.2e16d0ba.fill-650x500.jpg

काठमाडौं — नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको टिप्पणी गरे । उनले ‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरङ्कुशतातिर धकेल्ने प्रक्रियाको जो सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नु छ’ भनेका छन् ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डले बताएका छन् । उनले अघि भने, ‘विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका छौं ।’ प्रचण्डले संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेकोे बताए ।

संविधानसभा जनताको आन्दोलनबाट आएको र यसको रक्षाका लागि अब जनतामै जाने उनले बताएका हुन् । प्रचण्डले भने, ‘मैले त बुझेको छु, अब केपीको हातमा केही छैन । जुन दिन उहाँले संसद भंग गर्न सिफारिस गर्नुभयो, त्यो दिनबाट उहाँको हातमा केही छैन, अब अन्तै छ चिजहरु ।’