kp-oli.jpg

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जन सङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् । काठमाडौँमा भएको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भइ निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भइ पार्टीको शुद्धिकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु । ’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरेका छन् । कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको बताए । उनले भने, ‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमितता अब हुँदैन ।’