congres-samsadiya-dal-baithak-pradesh-1.jpg

विराटनगर — प्रदेश १ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । उक्त अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ । तर कांग्रेसले यसबारे केही निर्णय गरेको छैन । आज बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भएपनि कुनै निर्णय भएन । भोलि बुधबार बिहान पुनः बैठक बस्ने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिएका छन् ।