citizenship.jpg

काठमाडौं – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका – ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहे पनि ती महिलाले ८० वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन् । मानसिक सन्तुलन गुमाएकी महिलालाई मालारानी –३ का वडाध्यक्ष शोभाखर खनालको पहलमा उनी बसेको छोरीकै घर सन्धिखर्क नगरपालिका –२ कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता दिएकोे हो । ८० वर्षको उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उनका आफन्तहरु खुशी भएका छन् ।

नागरिकता नपाएको र हाल ती महिला सन्धिखर्क–२ स्थित छोरीको घरमा बसेकदै आएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उनी बसोबास गदै आएको स्थानमै पुगेर नागरिकताको सिफारिस तथा सनाखत गरेर नागरिकता प्रदान गरिएको वडाध्यक्ष खनालले जानकारी दिएका छन् । मानसिक सन्तुलन गुमाएकी महिलालाई वडा कार्यालय तथा जिल्ला प्रशासन कार्यलयमा ल्याउन असजिलो हुने भएपछि उनकै घरमा पुगेर सबै कागजी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिएका छन् । नागरिकता नहुँदा वृद्ध भत्ता खानबाट वञ्चित भएकी महिलालाई अबदेखि नागरिकताको आधारमा वृद्ध भत्ता प्रदान गरिने वडाध्यक्ष खनालले बताएका छन् ।

आफ्नो वडाका मानिसहरुको खोजी गरी अर्को नगरपालिकामा आएर समेत नागरिकता दिलाउन पहल गरेकोमा वडाध्यक्षको सबैले प्रशंसा गरेका छन् । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, मालारानी – ३ का वडाध्यक्ष शोभाखर खनाललगायतको टोली उनको घरमै गएर नागरिकता प्रदान गरेको हो ।