big_446416_1484810587.jpg

विराटनगर – विराटनगरस्थित एक कलेजको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । विराटनगरको मेरील्याण्ड कलेजको बा।२ ख ४५८ नम्बरको बस सुनवर्षी नगरपालिकाबाट विद्यार्थी लिएर आउने क्रममा मंगलबार बिहान दुर्घटनामा परेको हो । रंगेलीस्थित इलाका प्रहरी कार्यालयका अनुसार विद्यार्थी लिएर विराटनगर जाने क्रममा सुनवर्षी नगरपालिकाको भेडुवाथानमा बस दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा रतुवामाई नगरपालिकाकी निशा ताजपुरिया, रेजिना घिमिरे, श्रद्धा भट्टराई, मनिषा राजवंशी, विशाल कुमार मण्डल घाइते भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिएका छन् । उनले घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर लगिएको बताएका छन् । उनले डाइनियाबाट विद्यार्थी लिएर आइरहेको अवस्थामा बाक्लो हुस्सुसँगै सडकमा मोटरसाइकललाई जोगाउने क्रममा बस दुर्घटनामा परेको हुनसक्ने जनाएका छन् । प्रहरीले बससहित चालक ३१ वर्षीय धर्मेन्द्र वर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।