travel_HlzVicxzpo.jpg

अमेरिका—अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनकी प्रवक्ताले अमेरिकाले बेलायत, युरोपेली युनियनका केही देश र ब्राजिलमाथि लगाएको यात्रा प्रतिबन्ध नहट्ने स्पष्ट पारेकी छिन् । यसअघि डोनल्ड ट्रम्पले यात्रा प्रतिबन्ध हटाउन आदेश दिएका थिए । सोमबार ह्वाइट हाउसले एक आदेश जारी गर्दै बेलायत, यूरोपेली युनियनका केही देश र ब्राजिलमाथि लागेको यात्रा प्रतिबन्ध जो बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको ६ दिनपछि अर्थात् २६ जनवरीमा समाप्त हुने जानकारी दिएको छ । तर त्यसको केही बेरपछि नै जो बाइडेनकी प्रवक्ता जेन साकीले सोसल मिडियामा मेडिकल

टिमको सल्लाह अनुसार प्रशासनले २६ तारिखमा यात्रा प्रतिबन्ध हटाउन नहुने बताएकि छिन् । उनले लेखिन्, ‘कोरोना महामारीको स्थिती लगातार बिग्रिरहेको छ र भाइरसका थप सङ्क्रमित भेरियन्ट सार्वजनिक भइरहेका छन् । यस्तो बेलामा यात्रा प्रतिबन्ध समाप्त गर्ने सही समय होइन ।’ उनले यससँगै लेखिन्, ‘म कोभिड–१९ लाई थप फैलनबाट रोक्नका लागि सार्वजनिक स्वास्थ्य र अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित आदेश जारी गर्ने बारे विचार गरिरहेकी छु ।’

अमेरिकाले अघिल्लो वर्ष मार्चमा युरोपमाथि प्रतिबन्ध लगाएको थियो र मेमा ब्राजिलमाथि पनि यात्रा प्रतिबन्ध लगाएको थियो । जेन साकीको ट्वीटभन्दा केही समय अघि राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेशमाथि हस्ताक्षर गरेका थिए जस अनुसार २६ जनवरीमा बेलायत, आयरल्याण्ड, युरोपको शेंगेन क्षेत्र र ब्राजिलमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइनु पर्ने थियो । यो आदेश अनुसार चीन र इरानमाथि लगाएको प्रतिबन्ध जारी रहनेछ ।