Madhav-Kumar-Nepal.jpg

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको तानाशाह र निरकुश प्रवृत्ति नहटेकाले उनलाई आजै अन्तिम स्पस्टीकरण सोध्ने जानकारी दिएका छन् । अध्यक्ष नेपालले ओलीको प्रतिगामी कदम कुनै हालतमा स्वीकार्य नहुने समेत बताएका छन् । आज काठमाडौंमा भएको अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले केपी ओली कम्युनिस्ट पार्टीको सदस्य नै हुन लायक नभएको बताएका छन् । ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन, पार्टीको विधान पालना गर्नुभएन, अनुशासन उल्लङ्घन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

अध्यक्ष नेपालले ओलीलाई गोर्भाचोभको संज्ञा दिँदै ‘अब कम्युनिस्ट पार्टीले कस्तो कूपुत्र जन्माइएछ ?’ भनेर सोच्नुपर्ने बेला भएको बताएका छन् । संसद विघटन गर्ने ओलीको कदमविरुद्ध एकजुट हुनुको कुनै पनि विकल्प नभएको भन्दै अध्यक्ष नेपालले प्रतिगामी कदमको हार निश्चित रहेको दावी गरे ‘हामी जित्नेछौ एकदिन’ नेपालको भनाई छ । अध्यक्ष नेपालले भने पार्टी बैठक बोलाउन नचाहाने, छलफल नै गर्न नचाहने भन्दै अहिले ओलीको मैमत्त प्रवृत्तिका कारण सिङ्गो देश आन्दोलित र चिन्तित भएको समेत उनले बताएका छन् । नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको र संविधानले पनि बाँध्न नसकेको भन्दै तानाशाहीको चरम सीमा पार गरेको बताएका छन् ।