health.jpg

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पनि नयाँ प्रकारको कोरोना भाइरसका सङ्क्रमण भित्रिएको पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये ३ जनामा नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण देखिएको जानकारी दिएको छ ।

नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमुना विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पुष २७ गते हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट आज प्राप्त भएको मन्त्रालयले जानकारी गराएको छ । नयाँ प्रकारको कोरोना भाइरसबाट सङ्क्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष रहेका छन् ।

२८ वर्षकी महिला र ३२ वर्षका पुरुष अहिले सङ्क्रमणमुक्त भइसके पनि ६७ वर्षीय पुरुषमा भने अझै पनि सङ्क्रमण कायम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । मन्त्रालयले उनीहरुको ठेगाना भने अझै खुलाएको छैन् ।