140077314_749092452659942_9050440437246289307_n.jpg

जनकपुरधाम – माघ ५ गते अर्थात स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि गरिएको मधेस आन्दोलनको १४ वर्ष पूरा भएको छ । यो आन्दोलन १९ दिनसम्म चलेको थियो । योसँगै अधिकार प्राप्तिका लागि मधेसमा तीनपटक आन्दोलन भयो । तीनवटै मधेस आन्दोलनमा १ सय भन्दा बढीले शहादत प्राप्त गरे । मधेस आन्दोलन जति पुरानो हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गइरहेको छ । तैपनि मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । तर मधेश आन्दोलनको सुरुवात भएको दिनमा समेत मधेशवादी दलमा त्यो उर्जा देखिएको छैन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मधेस आन्दोलनको मुद्दा खुवै उठाइएको थियो । तत्कालिन संघीय समाजवादी फोरम र राजपाले राम्रो जित निकाले र प्रदेशमा अहिले मधेसवादी दलकै सरकार रहेको छ ।

मधेस आन्दोलनबाट मधेसले धेरै थोक पाए भने धेरै थोक गुमाए पनि । यद्यपि प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मधेस आन्दोलनबाट देशले संघीय गणतन्त्र पाएको बताएका छन् । देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेस आन्दोलनको उल्लेखनीय भूमिका रहेको र यो मधेस आन्दोलनको दृष्टिकोणले उपलब्धिपूर्ण रहेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभले बताए । नागरिकताको विषय राष्ट्रिय मुद्दा बनेको छ यो पनि मधेस आन्दोलनकै उपज रहेको लाभले बताए । तर, मधेशवादी दलले आजको दिनको महत्व भुल्दै गएको आरोप समेत लागि रहेको छ ।

मधेस आन्दोलनकै बलमा देशमा संघीयता तथा समावेशिता स्थापित भएको भन्दै लाभले भने ‘मधेशी जनताको पहिचान पनि स्थापित भएको छ । काठमाडौँमा बसेकाहरुको मनोविज्ञानमा परिवर्तन आएको छ, मधेशी जनता अब आफूलाई मधेशी कहलाउनमा गर्व गरिरहेका छन् ।’मधेस मामिलाका जानकारहरु मधेशवादी दलले आन्दोलनको ‘ब्याज’ खाईरहेको आरोप समेत लगाउँदै आइरहेका छन् । राजनीतिक विश्लेषक लाभले मधेशी जनताले चाहेका इस्युहरु अझैसम्म पूरा हुन नसकेको बताए ।