shukraraj_swab_collection_9_gchnTxmczW.jpg

काठमाडौं— टेकु अस्पताल सरुवारोग अस्पताल भएकाले कोरोना भाइरस कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिन थालेपछि अस्पतालमा मानिसको भिड लाग्न थाल्यो । त्यसपछि महामारीको सुरुवाती समयदेखि नै सङ्क्रमितको उपचारको खटिएको टेकु अस्पताललाई सरकारले कोभिड अस्पतालको रुपमा परिणत गर्यो । एक वर्षपछि अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोभिडसँगै नन—कोभिड बिरामीको उपचार गर्न शुरु गरेको छ । तर, टेकु अस्पताललाई कोभिड उपचारसँगै नियमित सेवामा फर्कदा बिरामीको व्यवस्थापनमा चुनौती थपिएको अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले बताएका छन् । टेकु अस्पतालले आइतबारदेखि नन—कोभिड बिरामीको उपचार गर्न थाले पनि कोभिडका बिरामीको चाप भने घटेको छैन ।

नेपालमा कोरोना महामारी फैलन थालेपछि उपचारका लागि टेकु अस्पतालनै जानुपर्छ भन्ने धारण थियो आम मानिसमा । किनभने नेपालका पहिलो कोरोना सङ्क्रमित सन् २०२० जनवरी १३ मा सरुवा रोग अस्पताल टेकुमा नै भर्ना भएका थिए । भर्ना भएका ती व्यक्तिको स्वाब परीक्षणका लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो । त्यसपछि उनलाई सङ्क्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुलाई समेत नियमित सेवा दिन निर्देशन दिइसकेको छ । टेकु अस्पतालले कोभिडका बिरामीलाई छुट्याएको बेड मध्येबाट अब नन–कोभिड बिरामीका लागि ३२ वटा बेड छुट्याएको डा. बास्तोलाले जानकारी दिएका छन् । टेकु अस्पताल सरुवा रोग अस्पताल भएकाले अन्य अस्पतालहरुले बेड, आईसीयू, भेन्टिलेटर आदिको भरिभराउ भएको भन्दै रिफर भएर त्यहाँ आइपुग्ने बिरामी पनि कमी हुँदैन । हाल अस्पतालमा कोभिडका १६ जना बिरामी उपचाररत छन् । कोभिड आइसोलेसनका लागि ५ बेड र आईसीयूका लागि २२ बेड छुट्याइएको छ ।

सरुवा रोग अस्पताल भएकाले महामारीभन्दा अघि कालाजार, मलेरिया, टिटानस, झाडापखाला, क्षयरोग, एचआईभी, मौसमी फ्लू, दम, सर्प, कुकुरले टोकेका आदि बिरामीको घुइँचो लाग्थ्यो । महामारीपछि केन्द्रिय कोभिड अस्पतालको रुपमा टेकु अस्पताललाई तोकेपछि अन्य सरुवा रोगका बिरामी उपचारबाट बञ्चित थिए । अस्पतालले नियमित सेवा दिन सुरु गरेपनि वर्तमान समयमा कोभिडका बिरामी नै प्राथमिकतामा परेको सरुवा रोग बिशेषज्ञ डा. बास्तोला बताउँछन् । उनका अनुसार नियमित सेवा लिने बिरामीलाई उपचारका लागि बेड छुटाउँदा कोरोना भाइरस कोभिड–१९ का बिरामीले बेड नपाउने अवस्था सिर्जना हुन थालेको छ ।

कोरोना संक्रमण हँुदा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, गन्ध थाहा नपाउनेजस्ता सामान्य तथा मध्यम खालको समस्या देखिएका बिरामी आजभोलि अस्पताल आउँदैनन् । कोभिड–१९ संक्रमण भएर जटिलसमस्या देखिएका बिरामी २÷३ हप्तासम्म भर्ना भएर अस्पताल बस्ने उनले सुनाए । स्वास्थ्यमा जटिल समस्या देखिएका बिरामी नको नहुजेल अस्पताल बस्ने गरेका छन् भने यता कोभिडका बिरामी थपिने क्रममा जारी रहेको उनको भनाइ छ ।