prachanda_poush_29.jpg

आइतबार काठमाडौँमा राष्ट्रिय युवा संघ (दाहाल–नेपाल) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् । देशमा गणतन्त्र स्थापना भएका बेला युवाहरुले उत्सव मनारहँदा केपी ओली रुँदै हिँडेको र अहिले संविधान माथि प्रहार हुँदा सिंगो देश स्तब्ध भएका बेला ओली हाँस्दै हिँडेको प्रचण्डले बताएका छन् । उनले भने, ‘युवाहरु गणतन्त्रको उत्सव मनाइरहेका बेला रुँदै हिँड्नु भयो । संविधानमाथि तपाईंले प्रहार गर्दा सिंगो देश स्तब्ध भएर बसेको छ । तपाईं हाँस्दै हिँड्नुभएको छ । विचित्र यही भयो मात्रै भनेको हो ।’

प्रचण्डले केही दिनअघि केपी ओलीले जोकर बनेर मानिसहरुलाई हसाउँदै हिँडेको बताएका थिए । त्यसको जवाफमा शनिबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई लक्षित गर्दै आफूले जनतालाई हसाउँदा पनि केही व्यक्तिलाई पीडा भएको टिप्पणी गरेका थिए । त्यसैको जवाफमा प्रचण्डले आइतबार भने, ‘हामी जन्त जानेबेलामा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने केपी ओली होइनौ । हामी मलामी जाँदा चिन्ता गरेरै जान्छौँ । जन्त जाँदा हामी हाँस्ने गरेरै जाने गर्छौँ । हामी त्यस्ता स्वाभाविक मान्छे हौँ । उहाँ अस्वभाविक हुनुभएको छ । त्यसकारण हामी गम्भीर स्थितिमा छौँ । हाम्रो आन्दोलन जुझारु हुन आवश्यक छ ।’

नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धीको हत्या भएको प्रचण्डको भनाइ छ । ‘तपाईंले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने र जनताले बलिदान र लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धीहरुमाथि प्रहार गर्ने गतिविधि गर्नुभयो । त्यो नेपाली जनतालाई अमान्य छ । हामीलाई अमान्य छ । हामी तपाईंको बाटो हिँड्न सक्दैनौँ । तपाईंको बाटो पतनको बाटो हो,’ प्रचण्डले भने । उनले आफूहरुको ओलीसँग कुनै लिनुदिनु नरहेको भन्दै देश र जनताको भविष्यप्रति चिन्तित भएको बताएका छन् ।