nirwachan.jpg

काठमाडौं – निर्वाचन आयोगले आज सर्वदलीय छलफल सुरु गर्न लागेको छ । आयोगले कान्तिपथमा रहेको आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको बताएका छन् ।

आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिनको लागि जानकारी गराएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । कोरोना भाइरस सङ्क्रमणको महामारीको बेला निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले त्यसको बारेमा आलोचना गर्दै आएका छन् ।