corona-vaccine-india.jpg

काठमाडौं — भारतमा हिजो शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएको थियो । पहिलो दिन स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ ।

राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार १ सय १७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३ सय १९ जना कर्मचारी दिए । तर ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको थियो । पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोप (कोभिसिल्ड र कोभ्याक्सिन) लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।