Kp-Sharma-Oli.png

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । नेकपा (ओली पक्ष)को प्रदेश नं १ सम्पर्क कमिटीको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले न्यायाधीशलाई कहिल्यै देख्न पनि नदेखेको र चिन्न पनि नचिनेको जिकिर गरेका छन् । उनले भने, ‘न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए भनियो, यो भन्दा झुट के हुन्छ ? न्याय प्रणालीमाथि जनताको विश्वास हटाउनको लागि, न्याय प्रणालीमाथिको यो गम्भीर प्रहार हो । यो भन्दा घिनलाग्दो कुरा के हुन्छ ? उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’

उनले सपना प्रधान मल्ललाई न्यायाधीश हुनअघि सार्वजनिक कार्यक्रममा भेटेपनि अरु न्यायाधीशलाई देख्दै नदेखेको दावी गरेका हुन् । उनले भने, ‘ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिल्यै भेटेको पनि छैन । यसपल्ट मात्रै होइन, कहिल्यै पनि सायद भेटेको छैन । सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला । त्यो पनि सार्वजनिक कार्यक्रममा । व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन । अरु न्यायाधीशहरुलाई मैले देखेको पनि छैन । सायद चिनेको पनि छैन । हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो ।’ प्रधानन्त्रीले न्यायाधीश भेटेको भनेर प्रकाशित समाचारप्रति आक्रोश पोख्दै यो लोकतान्त्रिक संस्थामाथिको हमला भएको बताएका छन् ।