deep_basnet_oBtkIiCMn4.JPG

काठमाडौं —विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् । हिजो शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका थिए । बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो ।

भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललिता निवासको जग्गा ब्यक्तिका नाममा दर्ता गराउन ‘फाईल’ उठाएका थिए । बस्नेतले उठाएको त्यही फाइलका आधारमा तत्कालीन मन्त्री विजयकुमार गच्छदारले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । र, त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले सदर गरेको थियो । विशेष अदालतले थुनामा पठाउन दिएको आदेश विरुद्ध वारेसमार्फत बस्नेतले सर्वोच्चमा पुनरावेदनको निवेदन दर्ता गराएका हुन् । २८ मंसिर ०७६ मा विशेष अदालतले बालुवाटारको सरकारी जग्गा गैरकानुनी ढंगले व्यक्तिका नाममा लैजान मतियारको भूमिका खेलेको अभियोगमा बस्नेतलाई थुनामा पठाउने आदेश दिएको थियो ।