d3e77ad7e31e2d001f495612afc75e8f.jpg

काठमाडौं —नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा नेता कोइरालाले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस लाग्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’ डा. कोइरालाले प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर आन्दोलनमा जान ढिलाई गर्न नहुने बताएका छन् ।

नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको बताएका छन् । तर अदालतको बहानमा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन नहुनेमा उनको जोड थियो । नेता कोइरालाले भने, ‘मुख्य प्रतिपक्षी दल भएर हामीले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढङ्गले निभाउन सकेका छैनौँ । तर अब सबै एक भएर अगाडि बढनैपर्छ ।’ प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गराउने कार्यमा नेकपा प्रचण्ड–माधव समुहसँगै नेपाली काँग्रेसको नेतृत्व पनि दोषी रहेको उनले भनाइ थियो । उनले भने, ‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्त्तिगत स्वार्थमा लोभिनुभयो । यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भुमिका काँग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो ।’