from-the-trumpet-shaped-protrusion-at-the-centre-of-a-daffodil-or-narcissus-to-a-part-of-a-cornice-with-a-vertical-face-to-the-most-popular-shape-of-chandeliers-corona-has-long-been-an-acceptable-part-of-society-.jpg

कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो । ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उनले स्वाब दिएका थिए । “पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेका थिए”, उनले भने, “कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।” रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरेका छन् । आफुलाई बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।