छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ । नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६÷७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो । नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले पाम आयलको आयातमा भारतले एकपक्षीय रूपमा प्रतिबन्ध लगाउँदा पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् ।

वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको यस्ता १४ उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रु ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताएका छन् ।