ezgif-3-2f11c1c543e6.jpg

काठमाडौं – मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री आजबाट सुरु गरेको छ । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न पाउने छन् । आवेदन दिन मिल्ने समय माघ ६ सम्म तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरे पुनः समय थप गरिने छ । ठूलो परिमाणमा भएका कारण यो बैंकको साधारण सेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् । यो नेपाल सेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ खुलेको हो ।

नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको सेयर पर्ने निश्चित देखिएको छ । यस बैंकको साधारण सेयर धेरै सङ्ख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना देखिएको छ । भर्खरै खुलेको चन्द्रागिरि हिल्सको आइपीओ १३ लाखको हाराहारीले भरेका छन् । नेपालमा खुलेका सबै डिम्याट खाता होल्डरले आवेदन दिएमा कम्तिमा ३० कित्ता पर्ने निश्चित रहेको छ । पछिल्लो समय डिम्याट खाता खोल्नेहरूको सङ्ख्या धेरैनै बढेको छ ।

कति कित्ता पर्छ भन्ने कुरा कतिले आवेदन दिन्छन त्यसमा भर पर्ने हुन्छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेको अनुमान अनुसार अहिले कै अवस्था हेर्दा ५० देखि ६० कित्तासम्म आईपीओ पर्ने देखिएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणले खरिद गर्न पाउने भएका छन् । यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।