ezgif-3-1ed36c6129b3.jpg

फ्रान्स – कोरोना सङ्क्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्यूमा थप कडाई गर्ने सरकारले घोषणा गरेको छ । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार साँझ ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने बताएको छ ।

डिसेम्बरदेखि नै फ्रान्समा रातको समयमा कर्फ्यू जारी भैरहेको छ । तर अब बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै यसमा थप कडाइको घोषणा प्रधानमन्त्रीले गरेका छन् । अहिलेसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने गरेको थियो । तर अब साँझ ६ बजेदेखि नै कर्फ्यू लगाईने भएको छ । यो नयाँ नियम कम्तिमा १५ दिनसम्म लागु हुने छ ।

प्रधानमन्त्रीले देशभर कोरोना सङ्क्रमणको अवस्था चिन्ताजनक रहेको जानकारी गराएका छन् । उनले विदेशबाट आउनेहरुका लागि पनि नयाँ नियमको घोषणा गरेका छन् । अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको सङ्क्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइने छ । फ्रान्स प्रवेश गरिसकेपछि उनीहरुले सात दिनसम्म आइसोलेशनमा बस्नु पर्नेछ, र सातौँ दिनमा कोरोना भाइरसको परीक्षण गरिने छ र यदि त्यसमा पनि नेगेटिभ आएपछि मात्रै सामान्य तरिकाले उनिहरुलाई त्यहाँ बस्न दिइने छ ।