680656-pradeep-kumar-gyawali.jpg

काठमाडौं – भारतको नयाँदिल्लीमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट सुरु हुन लागेको छ । बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे देखि सुरु हुने भएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशङ्करले संयुक्त रुपमा गर्ने भएका छन् । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक तीन दिनसम्म चल्ने छ, बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हिजोनै नयाँदिल्ली पुगेका हुन् । बैठकमा नेपाल – भारत सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड – १९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा कुराकानी हुने जनाइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने बताइएको थियो । तर भारतले भर्नेे सीमा सम्बन्धीको बारेमा छलफल नगर्ने सङ्केत देखाएको छ । भारतीय मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’

नेपाल – भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली भोलि नेपाल फर्किने कार्यक्रम रहेको छ । भारतमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्ने चर्चा चले पनि त्यसबारे अहिलेसम्म केही सार्वजनिक भएको छैन् ।