education Photo.jpg

काठमाडौं – शिक्षाविद्हरुले बालबालिकालाई सानै उमेरदेखि पठनपाठनको संस्कार दिनुपर्नेमा जोड दिएका छन् । काठमााडौंको गोकर्णेश्वर नगरपालिकास्थित १६ वटा सामुदायिक विद्यालयलाई स्थानीय समाजसेवीले पुस्तक हस्तान्तरण गर्ने कार्यक्रमका क्रममा शिक्षाविद्हरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

शिक्षाविद् डा. लक्ष्मण आचार्यले विद्यार्थीहरुमा पठनपाठन संस्कृति बढाउनका लागि सानै कक्षाबाट गर्नु पर्ने र शिक्षक शिक्षिकाहरुको प्रयाससँगै उचित सामग्रीको आवश्यकता रहेको बताउनु भएको छ । विद्यार्थीहरुलाई उनीहरुको स्तर अनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको शिक्षाविद् आचार्यको भनाइ छ । सानै कक्षाबाट पठन पठान संस्कृति सुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने छ ।

स्थानीय समाजसेवीहरु डा. लक्ष्मण आचार्य, दीपकुमार भण्डारी र धनप्रसाद लामिछानेको विशेष पहलमा गोकर्णेश्वर नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई करिब ६ लाख रुपैयाँको लागतमा कक्षा तीनसम्मका विद्यार्थीहरुका लागि कक्षा कोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तकहरु उपलब्ध गराइएको थियो ।

शिक्षाविद्हरुबाट छानिएका पुस्तकहरुको अध्ययनसँगै स–साना विद्यार्थीहरुको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको दीपकुमार भण्डारीको धाराणा व्यक्त गर्नु भएको छ । समाजसेवी धनप्रसाद लामिछानेले शैक्षिक स्तरको अभिवृद्धि बिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने दावी गर्नुभएको छ ।