1584614008adalat.jpg

काठमाडौं – आज सर्वोच्च अदालतले कक्षा ११ मा पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । गत असोज २८ गते भगवत अर्यालले पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

यसअघि पनी पटक पटक सुनुवाई सरे पनि आज न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ । शैक्षिक सत्रको सुरुमा कोरोना भाइरसको महामारीका कारण कक्षा सञ्चालन गर्न नपाएको अवस्थामा पाठ्क्रमको विवाद बल्झिदा विद्यालय सञ्चालक, शिक्षक र विद्यार्थी समेत अन्योलमा परेका थिए । नेपालमा दस–दस वर्षमा पाठ्यक्रम परिमार्जन हुने व्यवस्थाअनुसार शिक्षा मन्त्रालयको स्वीकृतिमा पाठ्यक्रम विकास केन्द्रले यो वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको हो ।