1024px-CargoNet_Di_12_Euro_4000_L%C3%B8nsdal_-_Bolna.jpg

काठमाडौं – जापानको समुद्री क्षेत्रमा भएको बाक्लो हिमपातमा परी १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जानकारी दिएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार यस घटनामा परेर २ सय ५० भन्दा बढी मानिसहरु घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका ३ जनाको मृत्यु भएको जानकारी दिएको छ । हिउँ सँग सम्बन्धित दुर्घटनामा ४७ जना घाइते भएका छन् । यस्तै, हिउँ फाल्नेक्रममा नीगाता प्रिफेक्चरमा पनि ४ जनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका ३ वटा प्रिफेक्चरमा मानिसको उद्धार र सहायताका लागि जापानी सेना परिचालन गरिएको छ ।

हिमपातका कारण सडक यातायात प्रभावित भएका छन् । होकुरिकु द्रुतमार्गमा १ हजार २ सय भन्दा धेरै सवारीसाधन अलपत्र परेका छन् । जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मङ्गलबारसम्म हिमपात हुने बताएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले जानकारी गराएको छ ।