sher-dhan-rai.jpg

विराटनगर – नेकपा प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सहित एक मन्त्री, दुई राज्य मन्त्री, प्रमुख सचेतक र अन्य तीन जन सांसद्हरुलाई निलम्बन गरेको छ । उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । उक्त समुहले मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

उनीहरुलाई पार्टीले निलम्बन गरेको जानकारी आइतबार नै प्रदेशसभामा आएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले बताउनु भएको छ । आइतबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यत्रय अम्बिका थापा, विमल कार्की र इन्द्रमणी पराजुली लाई निलम्बन गरेको थियो । यस अघि मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकण सोधेको थियो । स्पष्टीकरण सोधेको चार दिनपछि निलम्बन गरिएको हो ।

प्रचण्ड–माधव समूहका ३७ सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पुष १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट विस्थापित गरी भीमप्रसाद आचार्यलाई दलको नेतामा चयन गरेको थियो । यसैगरी पुस १९ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई पनि हटाएकोे थियो । आगामी माघ ७ गते प्रदेशसभाको हिउँदे बैठक सुरुहुँदै छ । यसैबीच नेकपाका दुवै समुहले आ–आफ्नाम निलम्बन र कारवाहीको सूचना दर्ता गराएपछि प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श सुरु गरेका छन् ।