Lilamani-Pokhrel.jpg

काठमाडौं– नेकपा प्रचण्ड–नेपाल समुहले प्रनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले तत्काल निर्वाचन सम्बन्धी सबै कामहरु रोक्न निर्वाचन आयोगसँग आग्रह गरेकोे छ । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै नेताहरु लिलामणि पोखरेल, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डे रामनारायण बिँडारीसहितको टोली आज निर्वाचन आयोग गएर यस्तो आग्रह गरेको हो ।

प्रतिनिधिसभा सम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको पार्टी स्थायी समिति सदस्य लिलामणि पोखरेलले बताउनु भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरुबारे काम गरिरहेको छ । यसले मुद्दा प्रभावित हुने भएकाले आफूहरुले रोक्न आग्रह गरेको र निर्वाचन आयोगले पनि तत्काल ती काम रोक्ने आश्वाशन दिएको नेता पोखरेलले भन्नुभयो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । नेकपाको प्रचण्ड–नेपाल समूहलगायत नेपाली कांग्रेस, जसपा, राप्रपा, नागरिक समाजका अगुवालगायत विभिन्न साना दलहरुले समेत आन्दोलन गर्दै आएका छन् ।