bkt_TQ3oY1UMwx.jpg

काठमाडौं – भक्तपुरको सूर्यविनायकमा अवस्थित रहेको एक मासु पसलबाट सुरु भएको आगलागीबाट अन्यत्र ५ वटा पसलमा आगो फैलिँदा झण्डैं १२ लाख बराबरको क्षति भएको छ । हिजो राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङको मासु पसलबाट आगलागी सुरु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको छ र मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । उक्त मासु पसल गजिकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२४ नं को मोटर साइकल पूर्ण रुपमा क्षति भएको छ,’ डीएसपी गिरीले भने । घिसिङको मासु पसलमा रहेको जिउँदो बोईलर कुखुरा २५ वटा, तयारी मासु र फ्रीज १ थान, नारायण साडेमियाले संचालन गरेको चिया पसलमा रहेको फ्रीज १ थान, टेबुल, कुसी नष्ट भएको छ ।

बिमल घिमिरेले संचालन गरेको फेन्सी कपडा पसलमा रहेको कपडाहरु र नरेश कर्माचार्यको कोठा समेतमा आगोलागी हुँदा कोठामा रहेका दराज, पलङ्ग, कार्पेट, बेड बिस्तारा, लत्ता कपडा र अन्य सामान समेत जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डिएसपी गिरीले बताए ।